पोखरा । हिमालको काखमा अवस्थित सुन्दर
गाउँ सिक्लेसमा यस पटक कला, कविता र चेतनाको अनुपम संगम देखियो ।
क्यानभास, रङ र कुची बोकेका कलाकार मात्र होइन, चोटिला कविताका
साथ एउटा जमात उक्लेको थियो सिक्लेसमा । जहाँ कलाकारले सिक्लेसको क्यानभासमा
सुन्दर चित्र कोरे । अनि कविहरुले हिमाललाई साक्षी राखेर कविता सुनाए ।
पोखरेली युवा सांस्कृतिक परिवारले नियमित
रूपमा सञ्चालन गर्दै आएको ‘समता कला कार्यशाला’ को ६५औँ श्रृंखला शुक्रबार र
शनिबार गैह्रीथर समाजघर, सिक्लेसमा भएको छ ।
शुक्रबार साँझपख सुरु भएको कार्यक्रम
उदघाटन प्रतिनिधि सभा सदस्य मानबहादुर गुरुङले क्यानभासमा रङ पोतेर गरे । उनले
पोखरेली युवा सांस्कृतिक परिवारले कला, साहित्य र संगीतमार्फत् गाउँ गाउँमा
पुगेको प्रयासलाई उच्च प्रशंसा गर्दै भने, ‘हरेक व्यक्तिमा
कुनै न कुनै क्षमता हुन्छ, त्यसलाई उपयोग गर्न मेहनत गर्नुपर्छ र
मेहनतीलाई नै महत्व दिनुपर्छ ।’
कार्यक्रममा मादी गाउँपालिका वडा नम्बर १
का अध्यक्ष देवीजंग गुरुङले आफ्नो कविता वाचन गर्दै सिक्लेसमा पहिल्यै सञ्चालन
भएको ‘क्यानभासमा सिक्लेस’ भन्ने कार्यक्रमको स्मरण गरे । यस कार्यलाई आगामी दिनमा
निरन्तरताका साथ अघि बढाउने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रमलाई अझ गहिराइ दिने गरी
वातावरणविद् डा. हुमबहादुर गुरुङले जलवायु परिवर्तनका चुनौतीहरूमाथि चिन्ता प्रकट
गरे । उनले भने, ‘हिउँ पग्लँदै गएको छ, हिमालहरू कालो हुँदै गएका छन् । आगलागीका
घटनाले थप समस्या उत्पन्न गरिरहेको छ । यस्ता बेला ‘समता कला कार्यशाला’जस्ता
सिर्जनात्मक कार्यक्रमले चेतना जगाउन र सिक्लेसजस्ता स्थानलाई देश–विदेशमा चिनाउन
सघाउँछ ।’
संस्थाका सल्लाहकार तथा वरिष्ठ कलाकार
प्राज्ञ बुद्धि गुरुङले कार्यक्रमको सन्दर्भ, उद्देश्य र
महत्वमाथि प्रकाश पार्दै सहभागी कलाकार तथा कविहरूलाई सिर्जनात्मक यात्रामा अघि
बढ्न प्रेरणा दिए ।
कार्यक्रममा डा. ईश्वरमणि अधिकारी,
सरस्वती
श्रेष्ठ ‘सरु’, उपेन्द्र पौडेल, चैतन्य अधिकारी, अम्बिकाप्रसाद
भट्टराई, विश्वराज रसाइली, विकल्प पराजुली र सविना सुनामले आ–आफ्ना
कविता वाचन गरेर सिक्लेसको साँझलाई साहित्यिक उज्यालोले भरिदिए ।
कार्यक्रममा संस्थाको कला विभागकी
सल्लाहकार ज्योति गुरुङले अतिथिहरूलाई स्वागत गरिन् । कार्यक्रमको अध्यक्षता
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले गरेको सचिव एमडी काफ्लेले बताए ।
कार्यक्रमको अर्काे दिन, २३
गते बिहान, सहभागी कवि र कलाकारहरू डा. हुमबहादुर गुरुङको नेतृत्वमा सिक्लेस
गाउँ र वरपरका हिमशृंखलाहरूको अवलोकन भ्रमणमा निस्किए । यस दौरान उनीहरूले स्थानीय
भूगोल, जनजीवन, सामाजिक संरचना, विकास र वातावरणीय चुनौतीहरूको प्रत्यक्ष
अनुभव संकलन गरे । यसै आधारमा कलाकारहरूले त्यहीँ बसेर कला सिर्जना गरेका थिए ।
दिउँसो ३ बजेतिर उनीहरू सिक्लेसबाट पोखरा फिर्ता भए ।
उनीहरुले साथमा ल्याए सिक्लेसको सौन्दर्य,
समस्या
र सम्भावनाको क्यानभासमा उत्रिएको सुन्दर सन्देश ।
समता कला कार्यशाला मात्र कार्यक्रम होइन,
यो
गाउँ–सहर, सिर्जना–संवेदना र प्रकृति–सांस्कृतिक चेतनाको जिउँदो पुल बनेर हरेक
शृंखलामा गाउँपिच्छे नयाँ रंग भर्दै अघि बढिरहेको यात्राको नाम रहेको बताउँछन्
पूर्व अध्यक्ष ईश्वरमणि अधिकारी ।
0 Comments