काठमाडौं । वि.सं. २००८ सालदेखि अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार २०८२ का लागि ब्यक्ति छनौटसंगै संघका केन्द्रीय विभागहरू गठन गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष वियोगी वुढाथोकीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक पुरस्कार २०८२ आगामी बैशाख १६ गते आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको छ । एक लाख राशी रहेको सो पुरस्कार हरेक दुई वर्षमा प्रतिष्ठित साहित्यकारलाई नेपाली लेखक संघले प्रदान गर्दै आएको छ ।
त्यसैगरी सो बैठकले संघको हालै लुम्बिनीमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशन पश्चात् नौ वटा केन्द्रीय विभाग गठन गरेको छ । जस अनुसार कानुनी परामर्श विभाग संयोजकमा दामु मर्सिफुल, परराष्ट्र विभाग संयोजकमा युवराज डिसी, अर्थ विभाग संयोजक विसु कुमार केसी, प्रकाशन विभाग संयोजक डा. विष्णु केसी, नीति, अनुसन्धान तथा प्रतिष्ठान विभाग संयोजकमा मनोज न्यौपाने, सम्पर्क तथा समन्वय विभाग संयोजक डा. शशी थापा पण्डित, युवा प्रतिभा विभागमा संयोजक डा. ईश्वरमणि अधिकारी, संचार विभाग संयोजकमा विमला तुम्खेवा र संगठन विभाग संयोजकमा भरत भण्डारी (सोझो गाउँले) छन् ।
जननायक विश्वेवर प्रसाद कोइराला, महाकवि डा. लक्ष्मी प्रसाद देवकोटा, ऋद्धि बहादुर मल्ल, गोविन्द मल्ल 'गोठाले', बालकृष्ण सम लगायतको सक्रियतामा वि.सं. २००८ सालमा स्थापना गरिएको नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको छ । जसलाई प्रा. डा. तुलसी भट्टराई, प्रा. डा. विष्णुविभू घिमिरे, प्रा. डा. कुल प्रसाद कोइराला, प्रा. डा. गोविन्द भट्टराई, कृष्ण धरावासी लगायतले पुनर्जिवित बनाएका थिए ।
0 Comments