सानु साथी
=== ===
दूर देशमा
सानो साथीलाई स्पर्श गर्न
ईश्वरकै हृदय पठाएको छु
र, अनन्त आराधनामा छु
खुसी यसरी पनि आउने रहेछ ।
--
जूनबेला म,
बा बनेको थिएँ
लाग्थ्यो सामान्य मान्छेबाट
एकाएक एकतहमाथि उठेको थिएँ
यतिखेर,
बाबाट पनि एक तहमाथि उक्लेको छु
सोच्दै छु,
अब अनन्त उन्मुख छु ।
--
अनन्तता भन्नु
सम्पूर्णता पनि हो
सम्पन्नता र वैभव पनि हो
यथेष्ट धन, दौलत या द्रव्य नहुँदैमा
सम्पन्न नहुने भन्ने हुँदैन,
सम्पन्नताको सम्बन्ध मनसित हुन्छ।
--
अनन्तता,
अजीबको शुन्यता हो
जहाँबाट जति झिक्नुस्
अनन्त नै रहन्छ
जस्मा जति थप्नुस्
हुने अनन्त नै हो ।
--
अत्यन्त प्रिय लाग्छ मलाई
यो अनन्तको अङ्कगणित
न झिकिने त्रास, न थपिने मोह
अनन्तलाई प्रेम गर्नु
अलौकिक शुन्यता प्राप्त गर्नु पनि हो ।
--
समयको यो अप्रतिम देउरालीमा
अन्तिम साथी पुस्ता प्राप्त गर्दैछु
लाग्छ,
अब क्रमशः बाल्यकाल प्रवेश गर्दैछु ।
--
प्रिय ईश्वर,
जून झरेको छ हत्केलामा
हत्केलामै अटेको छ पृथ्वी
यो चराचर जगत्
चराको गुँड जस्तै भएको छ
'वशुधैव कुटुम्बकम' !
--
प्रिय सानु साथी,
संसारका सारा खुसी तिमीलाई
आकासका जूनतारा तिमीलाई
मधूकरको मुरली
र वायुपङ्खी घोडा तिमीलाई
त्यही घोडाको पुच्छरमा झुण्डिएर
तिमीसम्म आइपुग्नु छ
र हृदयले सुम्सुम्याउनु छ तिमीलाई !
--
दूर देशमा
सानो साथी आएकिछिन्
म सानुसाथीभन्दा धेरै-धेरै सानु भएको छु ।
0 Comments